काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामौरलाई पदबाट हटाएको छ। फिफाको विवादास्पद ‘फिफा फवार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको सार्वजनिक आलोचना गरेको तीन साताभन्दा कम समयमै लामौर बर्खास्तीमा परेका हुन्।
फिफाले सोमबार लामौरसँगको प्रमुख सञ्चालन अधिकृतका रूपमा रहेको सम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ। फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारी तथा फिफा काउन्सिलका सदस्यलाई पठाएको सन्देशमा संस्था र लामौर आपसी सहमतिमा अलग भएको उल्लेख गरेका छन्।
यद्यपि, लामौरको बर्खास्तगी फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको विवादास्पद व्यावसायिक योजनाको आलोचनासँग जोडिएको हुन सक्ने आशंका गरिएको छ। फिफाले भने उनको पदबाट हटाइनुको कारण खुलाएको छैन।
गत महिना लामौरले इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको एफएफई योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए। उनले उक्त योजनालाई ‘एक व्यक्तिको परियोजना’ भन्दै फिफाको प्रशासन त्यसबाट ‘छलिएको’ आरोप लगाएका थिए।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३