काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग होर्मुज जलडमरूमध्यको नियन्त्रण तथा सुरक्षित व्यावसायिक आवागमनसम्बन्धी सम्झौतामा ओमानले हस्तक्षेप गरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
सोमबार फक्स न्युजका संवाददाता ट्रेइ यिङ्स्टसँग फोनवार्ता गर्दै ट्रम्पले ओमानले अमेरिकी अडानमा अवरोध गरे ‘बम खसाल्ने’ चेतावनी दिएका हुन्। पश्चिम एसियामा जारी तनाव र इरानसँगको वार्ताबारे चर्चा गर्दै उनले इरानले आत्मसमर्पणको संकेत दिनुपर्ने बताएका छन्।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले जुनमा भएको ६० दिने समझदारीको अवधि सकिन लागेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। यद्यपि उनले इरानमाथि दबाब बढाउन आफू कुनै निश्चित समयसीमामा नरहेको र ‘हतारमा नरहेको’ बताएका छन्।
होर्मुज जलडमरूमध्यमा नियन्त्रण तथा सुरक्षित आवागमनसम्बन्धी इरान र ओमानबीच भइरहेको समानान्तर वार्ताबारे प्रश्न गर्दा ट्रम्पले ओमानले अमेरिकी कदममा हस्तक्षेप गरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।
ट्रम्पले इरानमाथि अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहेको र त्यसले तेहरानमाथि आर्थिक दबाब बढाइरहेको दाबी गरेका छन्। उनले इरानीहरू ‘राम्रा पोकर खेलाडी’ भए पनि अहिले कठिन अवस्थामा रहेको टिप्पणी गरे। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्ना निर्णय प्रभावित नगर्ने उनको भनाइ छ।
अमेरिकी हतियार भण्डारबारे ट्रम्पले पश्चिम एसियामा अहिलेसम्म प्रयोग गरिएको हतियारको मात्रा निकै कम रहेको बताएका छन्। उनका अनुसार अमेरिकासँग मध्यमस्तरका हतियारको ठूलो भण्डार भए पनि पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा अत्याधुनिक हतियार तथा हवाई रक्षा प्रणालीको ठूलो हिस्सा युक्रेनलाई उपलब्ध गराइएको थियो।
यसैबीच, इरान र ओमानले होर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र निर्माणका लागि वार्ता जारी राखेका छन्। प्राविधिक छलफलपछि दुवै देशले जलमार्गका लागि संयुक्त ढुवानी मार्गको नक्सासमेत अन्तिम रूप दिएका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वार्ता जारी रहेको पुष्टि गर्दै विषय जटिल भएकाले सहमतिका लागि समय लागेको बताएका छन्। उनका अनुसार धेरै पक्षको संलग्नता र केही पक्षबाट भइरहेको ‘विध्वंसकारी प्रयास’का कारण वार्ता लम्बिएको हो।
बघाईका अनुसार वार्ताको मुख्य उद्देश्य होर्मुज जलडमरूमध्यमा दुवै तटीय राष्ट्रको सार्वभौमसत्ता कायम राख्दै व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र निर्माण गर्नु हो।
विश्वका प्रमुख तेल तथा ऊर्जा ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा तनाव बढ्दा विश्वव्यापी ऊर्जा आपूर्ति र तेलको मूल्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले अमेरिका, इरान र ओमानबीचको पछिल्लो गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।