काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट कोसी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ। सोमबार विराटनगरमा बसेको नेकपा प्रदेश कमिटी र संसदीय दलको संयुक्त बैठकले मन्त्रीहरूको नाम तय गरेको हो।
संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार नेकपा खिनु लङ्वा लिम्बूको नेतृत्वमा कोसी प्रदेश सरकारमा सहभागी हुनेछ।
बैठकले गोम्बु शेर्पा, जीवन आचार्य र गीता तिम्सिनालाई मन्त्री बनाउने निर्णय गरेको छ। त्यस्तै, सपना दर्जीलाई राज्यमन्त्री बनाउने तयारी छ।
नेकपा–एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार नेकपाले पर्यटन, वन तथा वातावरण, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय पाउने भएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३