हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि बानियाँले विश्वासको मत लिनुअघि नै राजीनामा दिएका हुन्। उनी २०८२ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए।
१०४ सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्रै थिए।
सोमबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेश संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार राप्रपाले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको हो। प्रदेशसभामा राप्रपाका १३ सांसद छन्।
यसअघि साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले आफ्ना ६ मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए।
अल्पमतमा परेपछि संवैधानिक व्यवस्थाअनुसार बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो। सोहीअनुसार उनले भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए।
तर, सरकार जोगाउन आवश्यक थप १५ सांसदको समर्थन जुटाउन नसकेपछि उनले विश्वासको मत लिनुअघि नै राजीनामा दिएका हुन्। वाग्मती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा रहेको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३