काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्।
सोमबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन थापा र देउवाबीच सकारात्मक संवाद गराउन आफूले मध्यस्थता गर्ने बताएका हुन्।
उनले पार्टीभित्र अहिले विवाद देखिए पनि शीर्ष नेतृत्व र विभिन्न समूहबीच अन्ततः मिल्नुको विकल्प नरहेको बताए। सबै पक्ष सहमतिमा पुग्ने विश्वाससमेत उनले व्यक्त गरे।
शशांकले बीपी कोइराला र प्रदीप गिरीको समयमा विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गरे। तर, अहिलेको राजनीतिमा गालीगलौज बढेको र भाषाको स्तरसमेत खस्किएको भन्दै उनले चिन्ता व्यक्त गरे।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३