नेविसंघको १२औं महाधिवेशन आगामी मंसिर ३ गतेभित्र गर्नेगरी पार्टी र नेविसंघको नेतृत्व लागिरहेका छन् । यसपटक नेविसंघले नेतृत्वमा उमेरहद लगाउने सम्भावना बढेको र समयमै महाधिवेशन समेत सम्पन्न गर्नेगरि गृहकार्य भइरहेको बताउँछन्- संघका केन्द्रीय उपाध्यक्ष सागर परियार । उमेर हदको विषय उठेसँगै परियार नेविसंघको आगामी अध्यक्ष पदका सशक्त दाबेदार समेत मानिन्छन् । प्रस्तुत छ, नेविसंघको आगामी महाधिवेशन र विविध पक्षमा केन्द्रित रही उपाध्यक्ष परियारसँग आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त संवाद :
नेविसंघको आगामी महाधिवेशनमा नेतृत्व चयनका सन्दर्भमा उठिरहेको उमेर हदको विषय कार्यान्वयन गर्न कत्तिको सम्भव होला ?
–वास्तवमा लामो समयसम्म महाधिवेशन नहुने परम्परा संगठनमा चल्यो भने पार्टीमा गएर एउटा जिम्मेवारीमा पुगिसक्नुपर्ने व्यक्तिहरु पनि नेविसंघमै रहनुपर्ने बाध्यता बन्दोरहेछ । संगठनभित्र गुटबन्दी बढ्ने, अराजकता बढ्ने र संगठन क्रियाशील नहुनेजस्ता समस्याहरु यस्तै कारणले देखा पर्दा रहेछन् । मेरो विचारमा संगठनलाई गतिशील बनाउने कुरालाई उमेरको विषयभन्दा पनि समयमै महाधिवेशन हुने र नहुने विषयले निर्भर गर्छ । यसकारण नेविसंघका लागि आजको आवश्यकता भनेको केवल महाधिवेशन नै हो ।
समयमै महाधिवेशन सम्पन्न हुने सम्भावना छ त ?
–महाधिवेशनको सम्भावना मात्रै होइन , अनिवार्य रुपमा हुनुपर्छ । सत्तापक्षीय विद्यार्थी संगठनहरु सरकारको चङ्गुलका फसिरहेका बेला आम विद्यार्थीका शैक्षिक सवालहरु मात्रै होइन, मुलुकमा सिंगो जनजिविकाका सवालहरु संकटमा पर्दै गइरहेका छन् । त्यहाँ सशक्त खबरदारी गर्नुपर्नेछ । त्यस्तै अर्कोतिर पार्टीलाई लोकतन्त्रका पक्षमा दृढ बनाउन र समृद्ध राष्ट्र निर्माणको भूमिकामा उभ्याउन सशक्त नेविसंघ आवश्यक छ । महाधिवेशनबाट संगठनको मूल नेतृत्व वा पार्टी नेतृत्व कोही पनि यो वा त्यो बहानामा भाग्न मिल्दैन । त्यसैले आगामी मंसिर ३ गतेभित्र नेविसंघको महाधिवेशन सम्पन्न हुनुको विकल्प छैन ।
तर तपाईहरुभित्रको आन्तरिक विवादका कारण नै अधिवेशन अन्यौलमा पर्ने आशंका गरिन्छ नि !
–नेविसंघ जिम्मेवार पार्टीको भातृसंगठन हो । पार्टी लामो समय राजनैतिक परिवर्तनसँग सम्बन्धित घटनाहरुमा समर्पित हुनुपरेकाले हाम्रा अधिवेशनहरु नियमित हुन सकेनन् । नेतृत्व पनि समयमै परिवर्तन हुन सकेन । यसैलाई आधार मानेर आगामी अधिवेशन अन्यौलमा पर्नेछ भन्ने आशंका गर्नु सान्दर्भिक हुदैन । स्वभाविक रुपमा संगठनभित्र केही सामान्य समस्याहरु देखिने गर्छ । तर ती समस्याको समाधान नेविसंघ आफैले गर्दै आएको पनि छ । यसमा पार्टीले सहजीकरण पनि गर्ने गरेको छ । अहिलेको हकमा पनि देखिएका समस्या समाधान गर्न संगठनको मूल नेतृत्व र सम्बन्धित साथीहरुका बिचमा छलफल र संवादहरु चलिरहेका छन् । बढिरहेको सौहार्दतालाई हेर्दा नेविसंघको महाधिवेशन हुन नपर्ने कुनै कारण देखिदैन ।
अबको महाधिवेशनमा तपाईको व्यक्तिगत तयारी कस्तो हुनेछ ?
–मूलतः विद्यार्थी राजनीतिको चरित्र भनेको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नेता पनि त्यहीँ बिचबाट नैं हुनुपर्छ । निरन्तर विद्यार्थीहरुको बिचमा रहेकै कारण म स्वयम् पनि विद्यार्थी नैं हुँ । म केवल उमेर भएका कारण नेतृत्वको दाबी गरिरहेको होइन । नेविसंघमा लामो समयदेखिको मेरो क्रियाशीलता, विभिन्न जिल्ला र क्याम्पसका साथीहरुको मप्रतिको सदभाव र अग्रजहरुको उत्प्रेरणा सँगसँगै वर्तमान उपाध्यक्ष समेत भएका हिसाबले म अध्यक्षको स्वभाविक उम्मेदवार बन्छु ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५