केही दिनमा टुंगो लाग्ने नेपाल कम्युनिष्ट पार्टी अछामको नेतृत्व यूवा नेता बम बहादुर बिसीले पाउने करिब निश्चित जस्तै भएको बताइन्छ । तीन दशक लामो कम्युनिष्ट राजनीतिमा सामेल बिसी यसअघि पार्टीको प्रदेश कमिटि सदस्यको भूमिकामा रहेका थिए । समाजशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका बिसी आफू गरिब किसान र मजदूर वर्गीय समाजबाट प्रतिनिधित्व गर्दै आजको ठाउँमा आइपुगेको बताउँछन् । प्रस्तुत छ– नेता बिसीसँग नेकपा अछामको भावी नेतृत्व, उनले नेतृत्व सम्हाल्ने अवसर पाएपछि अगाडि सारिने कार्ययोजना र केही समसामयिक प्रश्नहरुमा केन्द्रित रही आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त संवाद :
तपाई अचानक नेकपा अछामको अध्यक्षको उम्मेदवार कसरी बन्नुभयो ?
– तपाईलाई अचानकजस्तो लागेको मात्र हो । मूलतः पार्टीको जिल्लामा नेतृत्व गरिरहेका अध्यक्ष, उपाध्यक्ष र सचिवसहितका नेताहरु बिचको सघन परामर्श र छलफलपछि मलाई पार्टीले नैं नेतृत्वमा ल्याउने मोटामोटी तयारी गरेको हो । पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने स्वभाव, एकतापछिको आवश्यकता लगायतका विषयवस्तुलाई ख्याल गर्दै सबै तहका नेताहरुबिचको छलफलपछि पार्टीले नैं मलाई अगाडि सारेको हो ।
तर, अध्यक्ष पदमा दाबी गरिरहेका अन्य नेताहरु तपाईले नेतृत्व गर्ने बेलै नभएको बताइरहेका छन् नि !
– म अछामका सबै नेताहरुको अछामी कम्युनिष्ट आन्दोलनमा उहाँहरुले व्यतित गरेको अमूल्य समय, संघर्ष र योगदानबारे राम्ररी परिचित छु । त्यस सन्दर्भमा उहाँहरुप्रति मेरो उच्च सम्मान पनि छ । तथापि यो बरिष्ठताको विषयमा के हो भने तपाई बरिष्ठता केलाई मान्नुहुन्छ ? उमेरलाई ? त्यो हो भने म कान्छो नैं हुन सक्छु । तर, वास्तविकता के हो भने मैले अछामको कम्युनिष्ट आन्दोलनमा बिताएको तीन दशक लामो समयको पनि पार्टीले लेखाजोखा त गरिरहेकै होला नि हैन र ? यसका साथसाथै अहिलेको ऐतिहासिक एकताको बेला पार्टीको नेतृत्व गर्ने कुरा मानार्थभन्दा कार्यार्थ हुनुपर्छ भन्ने कार्यकर्ताको बुझाइलाई पनि ख्याल गर्नुपर्ला नि । एकतापछिको पार्टीलाई नेतृत्व दिन खोजी भइरहेका योग्य व्यक्तिहरुको सूचिमा म पनि पर्छु जस्तो लाग्छ । मेरो अटूट राजनैतिक क्रियाशीलतालाई नजिकबाट नियालीरहेका नेता कार्यकर्ताहरुलाई म आफैले मेरो बरिष्ठताका बारेमा बताइरहनु पर्छ जस्तो लाग्दैन र बरिष्ठता मैले तोक्ने कुरा पनि होइन ।
तत्कालीन एमालेभित्रकै केही नेताहरुले तपाईलाई संगठन र कार्यकर्ताहरुले खासै नचिन्ने दाबी गरिरहेका छन्, हो त ?
– यो एक हास्यास्पद प्रश्न हो । अछाममा बमबहादुर बिसीलाई कम्युनिष्ट कार्यकर्ताहरुले नचिन्ने कुनै प्रश्न नैं आउँदैन । मैले २०४९ सालमा अनेरास्ववियु अछामको अध्यक्ष बनेर काम गर्दाको समयका यूवा विद्यार्थीहरु नैं आजको अछामको कम्युनिष्ट पार्टीको संगठनलाई गाउँगाउँमा नेतृत्व दिइरहेका छन् । पार्टी राजनीतिकै क्रममा स्वयम् म आफैले प्रशिक्षित गरेका कार्यकर्ताहरुको ठूलो पंक्ति आज पार्टीमा उत्साहकै साथ क्रियाशील छ ।
तपाईको गाउँमा निर्माणाधीन अपर कर्णाली आयोजनासँग समेत जोडेर केहीले तपाईको आलोचना गरेको सुनिन्छ । खास कुरा के हो ?
– पहिलो कुरा मैले नेतृत्व गरिरहेको जुन संस्था छ, त्यो संस्थाको मूल उद्देश्य स्थानीय जनताको प्राकृतिक स्रोत र साधनमाथिको हक र अधिकारलाई कायम राख्नु हो । यसको दोस्रो उद्देश्य भनेको विकास कुन चरीको नाम हो भनेर समेत थाहा नपाएका मेरो क्षेत्र र त्यहाँका स्थानीय वासिन्दालाई विकाससँग जोड्ने कुरा हो । त्यसकारण यसरी विकासमा पछि परेको क्षेत्रमा त्यत्रो ठूलो योजना आइसकेपछि त्यो योजनालाई विकास र जनतासँग जोड्नुपर्छ भन्ने मेरो कुरा हो । आयोजनालाई राम्रो र हाम्रो बनाउने मेरो मूल उद्देश्य हो । तर, आलोचना गर्नेहरुले आयोजनाको फाइदा बेफाइदाबारे थाहा नै पाएका छैनन् । आयोजनाको वास्तविकताबारे थाहा पाए भने कसैले पनि विरोध गर्ने छैनन् र आलोचना हराएर जानेछ ।
तपाईमाथि केही मान्छेहरु सुर्खेतमै बढी व्यस्त हुने भएका कारण पार्टीको अछामको संगठनलाई नेतृत्व दिन नसक्ने बताउँदै आएका छन्, के भन्नुहुन्छ ?
– वास्तवमा यो प्रश्नको निर्माणकर्ता म आफै हुँ जस्तो लाग्छ । जानेबुझेका, पढेलेखेका र नेतृत्व गर्नसक्ने क्षमता भएका यूवाहरुले गाउँ छोड्दै जाने कुरा बढ्यो भने गाउँको विकास सम्भव छैन भन्ने मेरो पुरानै मान्यता हो । तर, मेरो सुर्खेत प्रवेश रहरले भएको होइन । माओवादी युद्धकालमा आफ्नो ज्यान जोगाउने हेतुले बाध्यताले सुर्खेत झरेको हुँ । सायद यस्तो प्रश्न गर्ने साथीहरुलाई थाहा नहुन सक्छ कि आजपनि म घाइते जीवन बिताइरहेको छु । अर्काे कुरा, अछाममा रहेका क्रियाशील नेता कार्यकर्ताहरुले अछामबाहिर कुनै व्यापार व्यवसाय गर्न पाइदैन भन्ने त छैन होला नि ।
यदि पार्टीको नेतृत्व सम्हाल्ने अवसर तपाईले नैं पाउनुभयो भने संगठनलार्ई कसरी अगाडि बढाउनुहुन्छ ?, के हुन्छ तपाईको कार्ययोजना ?
– पार्टी एकताको यस ऐतिहासिक अवसरमा सबैभन्दा पहिलो काम भनेको पार्टीका जिल्लाभरिका नेता कार्यकर्ताहरुको भावनात्मक एकता तयार पार्ने हो । त्यस्तै, पार्टीलाई निश्चित नीति, विधि र प्रविधिका माध्यमबाट सशक्त बनाउने योजना छ । साँच्चिकै गरिब, किसान र मजदूरहरुको पार्टी कम्युनिष्ट पार्टी हो भन्ने कुरा आम जनतालाई अनुभूति हुने गरी काम गरिनेछ । यतिबेला त झन् हामीले सत्तारुढ पार्टीको भूमिकामा भएको हुनाले समग्र जिल्लाको अभिभावकीय नेतृत्व गर्नुपर्नेछ । मेरो सबभन्दा धेरै जोड भनेको पार्टी कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्ने कुरामा हुनेछ ।
अध्यक्ष त पक्का बन्नुहुन्छ नि !
– त्यो सम्भावना धेरै छ । किनभने, मलाई अध्यक्ष बन्नबाट रोक्न खोज्नेहरुका मनमा पनि बमबहादुर बिसी अध्यक्ष हुनैपर्ने मान्छे हो भन्ने लागिरहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५