यूएई र स्कटल्यान्डसमेत सहभागी शृंखलामा क्यानडाले चार खेल खेल्दा तीन खेलमा हार व्यहोरेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो।
यूएईसँगको पहिलो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको क्यानडाले त्यसपछिका तीनवटै खेल गुमायो। क्यानडा स्कटल्यान्डसँग ९ र १७० रन तथा यूएईसँग ९७ रनले पराजित भयो।
क्यानडाको खराब प्रदर्शनसँगै नेपाललाई लिग–२ को शीर्ष ६ मा रहेर सिधै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना केही सहज भएको छ।
हाल अंकतालिकामा क्यानडा २५ अंकसहित छैटौँ स्थानमा छ भने नेपाल २४ अंकसहित सातौँ स्थानमा रहेको छ। छैटौँ स्थानका लागि अब नेपाल र क्यानडाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाल र क्यानडाले लिग–२ अन्तर्गत अन्तिम शृंखला खेल्न बाँकी छ। ओमान, नेपाल र क्यानडा सम्मिलित उक्त शृंखला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ।
नेदरल्यान्ड्समा सम्पन्न पछिल्लो शृंखलामा जितविहीन बनेको नेपाल अन्तिम शृंखलामा भने त्यही नतिजा दोहोर्याउन चाहँदैन। नेदरल्यान्ड्सबाट फर्किएपछि तत्कालीन कप्तान रोहितकुमार पौडेलले अन्तिम शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्य रहेको बताएका थिए।
ओमान शृंखलामा नेपालले कम्तीमा क्यानडाविरुद्धका दुवै खेल जित्न सके शीर्ष ६ मा रहेर सिधै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बलियो हुनेछ। यद्यपि, त्यसका लागि ओमान र क्यानडाबीच हुने खेलको नतिजामा समेत नेपाल निर्भर रहनुपर्नेछ।
नेपालले ओमान शृंखलामा तीनवटै खेल जित्न सके शीर्ष ६ भित्र रहेर आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अवस्था बन्नेछ। तर, विदेशी भूमिमा नेपालको प्रदर्शन चुनौतीपूर्ण रहँदै आएको छ।
ओमानमा अपेक्षित नतिजा निकाल्न नसके नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन प्लेअफको बाटो अपनाउनुपर्ने अवस्था आउन सक्छ।
यसैबीच, ओमान शृंखलालाई लक्षित गर्दै नेपालले टोलीमा ठूलो परिवर्तन गरेको छ। रोहितकुमार पौडेलको स्थानमा सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको छ।