यसै महिना युक्रेनको सैन्य गुप्तचर निकायका एक अधिकारीले रोयटर्सलाई उत्तर कोरियाली क्षेप्यास्त्र टोलीले पश्चिमी रुसमा जनशक्ति र सैन्य उपकरण तैनाथ गर्न थालेको बताएका थिए । उनका अनुसार उक्त टोली युक्रेनमाथि आक्रमणका लागि १२० ब्यालिस्टिक क्षेप्यास्त्र र ६ वटा लन्चरसहित परिचालन हुन सक्ने अनुमान गरिएको छ ।
जेलेन्स्कीले युक्रेनी भूभागमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग भएको प्रमाणसमेत रहेको बताएका छन् ।
उत्तर कोरियाले सन् २०२४ मा रुसको कुर्स्क क्षेत्रमा करिब १४ हजार सैनिक पठाएको थियो । ती सैनिकले युक्रेनी सेनाको आक्रमणविरुद्ध रुसी सेनालाई सहयोग गरेका थिए । उनीहरूमध्ये केही सैनिक घाइते तथा मारिएको बताइएको छ ।
युक्रेनी तथा स्वतन्त्र निकायहरूको मूल्यांकनअनुसार उत्तर कोरियाले रुसलाई लाखौँ राउन्ड तोप तथा मोर्टारका गोला, ब्यालिस्टिक क्षेप्यास्त्र, लामो दूरीका तोप र मल्टिपल–लन्च रकेट प्रणालीसमेत आपूर्ति गरेको छ । रुसी सैन्य ब्लगर तथा सैनिकहरूले भने उत्तर कोरियाबाट प्राप्त केही गोलाको गुणस्तर निकै कमजोर रहेको दाबी गर्दै आएका छन् ।
यसैबीच, जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा क्षमता बढाउन दक्षिण कोरियासँग सहयोग मागेका छन् । युक्रेनलाई आवश्यक सैन्य क्षेत्रमा दक्षिण कोरियाबाट सहयोग प्राप्त गर्न आफूहरू इच्छुक रहेको उनले बताएका छन् ।
युक्रेनमा उच्च क्षमताका हवाई प्रतिरक्षा प्रणालीको ठूलो अभाव रहेको बताइएको छ । रुसले थप ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गर्दै युक्रेनको यही कमजोरीको फाइदा उठाउने प्रयास गरिरहेको युक्रेनको दाबी छ ।
अमेरिकामा निर्मित ‘प्याट्रियट’ जस्ता उन्नत इन्टरसेप्टर प्रणालीबिना ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न निकै कठिन हुने जनाइएको छ।