२७ माघ, काठमाडौँ । सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरणसम्मको मतदानपछि उहाँ निर्वाचित हुनुभएको हो । दोस्रो चरणको मतदानमा फरमाजोले १८४ मत ल्याउनुभएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी मोहम्मदले ९७ मत ल्याउनुभएको थियो । तेस्रो उम्मेदवारको रुपमा प्रतिश्पर्धामा रहनुभएका सरिफ सेख अहमदले ४५ मत मात्रै पाउनुभएको थियो । नवनिर्वाचित राष्ट्रपति फरमाजो सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री बन्नुभएको थियो ।
उहाँले आफूलाई निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । फरमाजोसँग अमेरिकाको राहदानी छ भने उहाँले स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुनुहुन्छ । त्यस बाहेक उहाँले न्युयोर्क राज्य, बफेलो नगरपालिकालगायतका अन्य विभिन्न निकायहरुमा पनि काम गर्नुभएको थियो । फरमाजोले प्रधानमन्त्रीबाट हटेपछि सन् २०११ मा सोमाली जस्टीस एण्ड इक्वालिटी पार्टी नामका नयाँ पार्टी खोल्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७३