काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे।
अफगानिस्तानलाई सस्तोमा रोक्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै छ। बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो।
नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।
क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३