काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि लगातार दोस्रो पटक जितेको छ।
अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले खेलको २०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। तर पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माडजोले बराबरी गोल फर्काए।
जोन म्याकगिनको क्रसमा भलीमार्फत गोल गरेका माडजोले सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमानसमेत बनाए।
दोस्रो हाफमा पीएसजीले पुनः अग्रता लियो। खेलको ६२औँ मिनेटमा डिजाएर डुएले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए। उनको गोल अफसाइडको आशंकामा भीएआरमार्फत जाँच गरिएको थियो। जाँचपछि गोलले मान्यता पाएपछि पीएसजीले अग्रता कायम राख्यो।
खेलको बाँकी समयमा भिल्लाले बराबरीका लागि केही राम्रा अवसर सिर्जना गरे पनि पीएसजीका गोलरक्षक माट्भे साफोनोभले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।
एस्टन भिल्लाले गत मेमा युरोपा लिगको उपाधि जित्दै सुपर कपमा स्थान बनाएको थियो भने पीएसजीले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेर प्रतियोगितामा स्थान बनाएको थियो।
पीएसजीले गत वर्ष टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कपको उपाधि जितेको थियो। यस जितसँगै फ्रेन्च क्लबले लगातार दोस्रो वर्ष यूईएफए सुपर कपको उपाधि आफ्नो नाममा राख्न सफल भएको छ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३