काठमाडौं । रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको संसदीय निर्वाचनको प्रारम्भिक नतिजाअनुसार राष्ट्रपति भ्लादिमिर पुटिन समर्थक सत्तारूढ दल युनाइटेड रसियाले वर्चस्व कायम गरेको छ ।
करिब ५८ प्रतिशत मतदान केन्द्रको मतगणना सकिँदा समानुपातिक प्रणालीअन्तर्गतका २२५ सिटका लागि युनाइटेड रसियाले करिब ५८ प्रतिशत मत प्राप्त गरेको छ । संसद्को बाँकी २२५ सिट प्रत्यक्ष निर्वाचन क्षेत्रबाट चुनिनेछन् । प्रारम्भिक परिणामले तीमध्ये पनि अधिकांश सिट युनाइटेड रसियाले जित्ने देखाएको छ ।
कडा राजनीतिक नियन्त्रणका बीच सम्पन्न निर्वाचनमा पुटिनका नीतिको प्रभावकारी विरोध गर्ने विपक्षी शक्ति कमजोर रहेको एपीले जनाएको छ । अधिकांश विपक्षीलाई उम्मेदवारी दिनबाटै रोकिएको यो निर्वाचनमा क्रेमलिनको राजनीतिक पकड थप बलियो हुने देखिएको छ ।
निर्वाचनमा रुस–युक्रेन युद्धपछि मस्कोले कब्जा गरेका तर पूर्ण नियन्त्रणमा नरहेका चार युक्रेनी क्षेत्रका साथै सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाका बासिन्दालाई समेत मतदानमा सहभागी गराइएको थियो । युक्रेनले यसको विरोध गर्दै निर्वाचनलाई गैरकानुनी भनेको छ भने युरोपेली संघले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ ।
प्रारम्भिक नतिजाअनुसार क्रेमलिनका प्रस्तावलाई प्रायः समर्थन गर्ने अन्य चार दलले पनि संसद्को तल्लो सदन स्टेट ड्युमामा पुनः प्रवेश गर्ने देखिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३