२२ माघ, बागलुङ । प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक हरिनारायण गौतम पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी बागलुङले स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका पर्यटन विभाग प्रमुख एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी १० हजार १३१ रुपैयाँ रहेको छ । चर्चित वृत्तचित्र भाग्यले बाँचेकाहरुबाट गत वर्ष प्रेस चौतारी बागलुङले १ लाखको अक्षय कोष स्थापना गरेको प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माले बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर चारका इन्चार्ज एवं भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेलाई पुरस्कार कोष स्थापनाका लागि सहयोग गरेको भन्दै कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङ अध्यक्ष दील शिरिष, प्रेस सेन्टरका राम अविरल, प्रगतिशील पत्रकार संघका सचिव विजय राना लगायतले प्रेस चौतारी स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३