काठमाडौं । आयोजक जापानले २०औँ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जितेको छ ।
नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा जापानका ताकुमी होजोले स्वर्ण जितेका हुन् । उनले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे ।
चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक जिते ।
महिला व्यक्तिगत ट्रायथलनमा भने चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् । उनकी हमवतन हुआङ आन्कीले रजत तथा जापानकी मानामी हायासीले कास्य जितिन् ।
यसैबीच, चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकाल्दै फाइनलमा स्थान बनाएकी छन् । उनले आफ्नै देशकी चाङ मोहनलाई करिब २.७० सेकेन्डले पछि पारिन् ।
पुरुष १०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानधारी तथा ओलम्पिक च्याम्पियन चीनका पान झानलेले ४८.०७ सेकेन्डको समय निकाल्दै फाइनलमा स्थान बनाए । उनी दक्षिण कोरियाका ह्वाङ सन–वुभन्दा ०.०६ सेकेन्ड अगाडि रहे ।
शनिबार नागोयास्थित ३० हजार दर्शक क्षमताको रंगशालामा जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन् । अक्टोबर ४ सम्म चल्ने प्रतियोगितामा ४६९ स्वर्ण पदकका लागि एसियाभरका खेलाडीले ४० भन्दा बढी खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
आयोजकले खर्च घटाउन परम्परागत खेलाडी गाउँ निर्माण नगरेपछि ११ हजारभन्दा बढी खेलाडी र ६ हजार अधिकारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सहभागीहरू होटल, अस्थायी आवास तथा ‘कोस्टा सेरेना’ क्रुज जहाजमा बसिरहेका छन् ।
यसैबीच, दक्षिण कोरियाली पुरुष हक्की टोलीको खेलअघि गल्तीले उत्तर कोरियाको राष्ट्रिय गान बजाइएको घटनामा आयोजकले माफी मागेको छ । प्रतियोगितामा एथलेटिक्स र पौडीसँगै सेपाक ताक्रो तथा कबड्डीजस्ता क्षेत्रीय खेल पनि समावेश छन् ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३