काठमाडौं । जेनजी आन्दोलनमा सोमबार प्रहरीको गोली लागेर ग्लोबल कलेजका विद्यार्थी श्रीयम चौंलागाईंले ज्यान गुमाएका छन्। कक्षा १२ मा अध्ययनरत उनी बिहानै कलेज गएर पढाइ सकेपछि घर फर्किने क्रममा साथीहरूसँगै आन्दोलनतर्फ पुगेका थिए।
कलेजबाट बस चढेर आएका श्रीयम र उनका साथी बानेश्वर नजिकै ओर्लिएका थिए। त्यसपछि उनीहरु आन्दोलनतर्फ गएको कलेज स्रोतको भनाइ छ। ‘उनीहरु बाटैमा आन्दोलनमा जाने भनेर योजना बनाएरै आएका रहेछन्,’ कलेजका प्रिन्सीपल अम्बादत्त जोशीले जानकारी दिए।
श्रीयमलाई गोली कहाँ र कसरी लाग्यो भन्ने स्पष्ट भइसकेको छैन। घाइते भएका उनलाई ट्रमा सेन्टर पुर्याइए पनि बचाउन सकिएन। जोशीका अनुसार श्रीयम कलेजको पोशाकमै थिए।
‘हामीले विद्यार्थीलाई आन्दोलनमा नजान भनेका थियौं। तर, कलेजको कक्षापछि उनीहरु कहाँ जान्छन् भन्ने हामीलाई थाहा हुँदैन,’ प्रिन्सीपल जोशीले भने।
श्रीयमसँगै आन्दोलनमा गएका अर्का साथी भने सकुशल छन्। सामाजिक सञ्जालमा अहिले उनीहरुको फोटोहरू भाइरल भइरहेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२