काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा मागेको छ। पार्टीले जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शनकारीमाथि गरेको गोली प्रहारलाई नरसंहारको रूपमा व्याख्या गरेको छ।
‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।
माओवादीका नेताहरूले भने, सरकारले प्रदर्शनकारीमाथि अनावश्यक र अत्यधिक हिंसा प्रयोग गरेको छ। परिस्थिति नियन्त्रण गर्नका लागि प्रधानमन्त्रीले राजीनामा दिनु अपरिहार्य भएको बताइएको छ।
जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ। यस घटनापछि माओवादीले आफ्नो अभियान स्थगित गरेर काठमाडौं फर्किने निर्णय गरेको छ। अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्ष र महासचिव स्वयं सहभागी थिए।
माओवादी नेता माधव सापकोटाका अनुसार, “सरकारले प्रदर्शनकारीमाथि लगातार गोली चलाएको छ। यो हत्या मात्र होइन, नरसंहार हो। शीर्ष नेताहरूको निष्कर्ष यही हो कि प्रधानमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्छ।”
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२