काठमाडौं, २३ भदौ – नेपाली कांग्रेसका नेता र कार्यकर्ताले जेनेरेशन जेड (जेनजी) विरोध प्रदर्शनमा प्रहरी दमनबाट १७ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेका छन्।
केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनुपर्छ। युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ।”
नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको बताउँदै, वर्तमान सरकारलाई तानाशाहीको संज्ञा दिइन्। ढकालले भनिन्, “कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसको ज्यानभन्दा महत्त्वपूर्ण होइन। तिमीहरुको निकम्मापनले आज कालो इतिहास लेखिएको छ। नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ।”
अर्का नेता व्रितान्त खनालले पनि सरकारबाट कांग्रेस बाहिरिनुपर्ने माग राख्दै भने, “अझै हेरेर बस्ने भए हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं।”
नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिँदै भने, “यो अपराधी सरकारको साक्षी बस्नेहरु अपराधीबाहेक केही हुन सक्दैनन्। हाम्रा बच्चालाई यसरी मार्ने अपराधीहरुलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन। यो आन्दोलन अब हाम्रा बच्चाहरुको मात्र होइन, हाम्रो पनि हो। पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौं।”
नेता–कार्यकर्ताहरुले गृहमन्त्री लेखकको राजीनामासहित सरकारप्रति दबाब बढाउँदै राजनीतिक आन्दोलनलाई अझ उग्र बनाउने संकेत गरेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२