काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको जेन्जी–जी आन्दोलन हाल देशभरको प्रमुख शहरमा उग्र रूपमा फैलिएको छ। अहिलेसम्मको तथ्याङ्क अनुसार कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने ४९ जना घाइते भएका छन्।
ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ, जससंगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ। यसैगरी, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको छ। घाइतेहरूको यकिन विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन, तर राजधानी काठमाडौंसहित विभिन्न शहरमा प्रदर्शनकारीहरूको संख्या बढ्दै गएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
काठमाडौँमा बानेश्वर क्षेत्रमा प्रदर्शन तीव्र बन्दै गएपछि प्रशासनले कर्फ्यू जारी गरेको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप हुँदा गोली चलेको खबर छ। गोली लागेर केही प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने केही घाइते भएका छन्। कर्णालीमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भइरहेको छ भने इटहरीमा पनि कर्फ्यू लागू गरिएको छ। अन्य जिल्लाहरूमा पनि युवा र विद्यार्थीहरूले विरोध प्रदर्शन जारी राखेका छन्।
प्रदर्शनकारीहरू सामाजिक सञ्जाल बन्दको विरोधमा डिस्कर्ड, रेडिट जस्ता अनलाइन प्लेटफर्ममार्फत समन्वय गर्दै आएका छन्। केही विद्यार्थी नेता र राजनीतिकर्मीहरूले आन्दोलनको आलोचनात्मक समर्थन गरेका छन् भने मानव अधिकार आयोगले प्रहरीको अस्वाभाविक बल प्रयोगबारे अहिलेसम्म प्रतिक्रिया जनाएको छैन।
राजनीतिक दबाब बढ्दै गएको छ। कांग्रेसका केही केन्द्रीय सदस्यले गृहमन्त्रीको राजीनामा मागेका छन् भने सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छिन्। प्रदर्शनको क्रममा ४ पत्रकार पनि घाइते भएका छन्। एम्बुलेन्स र स्वास्थ्यकर्मीहरूले गम्भीर घाइतेलाई अस्पतालमा स्थानान्तरण गरिरहेका छन्, र अहिलेसम्म ५० भन्दा बढी गम्भीर घाइते ओसारिएको जानकारी आएको छ।
यस आन्दोलनले देशभर राजनीतिक तथा सामाजिक तनाव बढाएको छ। राजधानीसहित विभिन्न क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड भएको छ भने प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा मृत्यु र घाइतेको संख्या बढिरहेको छ। सरकार र राजनीतिक नेतृत्व माथि जनस्रोत र मानव अधिकारको दृष्टिले दबाब बढिरहेको छ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२