काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले देखाएको दमनको निन्दा गरेका छन्।
शर्माले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आन्दोलनलाई दमन गरेर रोक्न नसकिने इतिहासले प्रमाणित गरेको उल्लेख गर्दै सरकारसमक्ष गम्भीर भएर आन्दोलनका मागको समाधान खोज्न अपिल गरेका छन्। उनले चेतावनी दिएका छन् कि ढिलाइ गर्नु आत्मघाती कदम हुन सक्छ।
उपमहासचिव शर्माले भने, “सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन। आन्दोलनलाई दमनबाट रोक्न सकिँदैन, यस विषयमा सरकार र राजनीतिक दलहरूले गम्भीर हुनु जरुरी छ।”

उनी आन्दोलनकारीहरूलाई संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न अपिल गर्दै आएका छन्। साथै, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अघि बढाउन पनि उनले माग गरेका छन्।
शर्माले भ्रष्टाचारविरुद्ध कडा कदम चाँडै चाल्न र २०४६ साल यताका सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र तथा शक्तिशाली आयोग गठन गर्न पनि सुझाव दिएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२