काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजीको आन्दोलन हिंसात्मक बन्दै गएपछि मृत्यु हुनेको संख्या सात पुगेको छ।
त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल र केएमसी अस्पतालमा उपचारका क्रममा सात जनाको मृत्यु भएको पुष्टि भएको छ। ट्रमा सेन्टरमा मात्रै चार जनाले ज्यान गुमाएका छन्।
आन्दोलनकारीहरुले प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका थिए। यस क्रममा उनीहरुले संसद् परिसरभित्रको प्रहरी पोष्ट समेत कब्जा गरेका थिए। नियन्त्रणमा लिन प्रहरी र demonstrator बीच तीव्र झडप भएपछि प्रहरीले गोली चलाएको हो।
प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको र पानीको फोहोरा प्रयोग गरेको भए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन। घटनापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ भने सेनासमेत सडकमा उतारिएको छ।
नयाँबानेश्वर आसपासको क्षेत्र अझै पनि तनावग्रस्त रहेको छ र प्रदर्शनकारीहरू छिटफुट रूपमा विरोध जारी राखिरहेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२