काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यु क्षेत्र थप विस्तार गरेको छ। बिहान बानेश्वर–तिनकुने आसपास मात्र कर्फ्यु लागू गरिएकोमा दिउँसो पुनः आदेश जारी गरी संवेदनशील सरकारी निकाय रहेको क्षेत्रसम्म निषेधाज्ञा पुर्याइएको हो।
प्रशासनले जारी गरेको आदेशअनुसार अब शितलनिवास (राष्ट्रपतिको कार्यालय), लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपासका क्षेत्रमा समेत कर्फ्यु लागू हुनेछ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयका अनुसार आज (भदौ २३ गते) दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने व्यवस्था गरिएको छ। आदेशमा भनिएको छ, “शान्ति–सुरक्षा कायम गर्न र असामाजिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा प्रबन्धस्वरूप कर्फ्यु आदेश जारी गरिएको हो।”
यसअघि जेनजी आन्दोलनका क्रममा नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनकारी संसद भवनतर्फ प्रवेश गरेपछि तत्काल कर्फ्यु जारी गरिएको थियो। तर आन्दोलन तीव्र बन्दै गएपछि थप संवेदनशील सरकारी क्षेत्रलाई पनि सुरक्षा दृष्टिकोणले निषेधाज्ञा क्षेत्रमा समावेश गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिमा कुनै पनि व्यक्तिलाई तोकिएको क्षेत्रमा हिँडडुल, सभा, जुलुस वा भेला गर्न नपाइने नियम लागू हुने जनाइएको छ। अनुमति बिना बाहिर निस्किए कडा कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२