काठमाडौं । नेकपा एमालेले आफ्नो दोस्रो विधान महाधिवेशनमार्फत पार्टीको आगामी वैचारिक र राजनीतिक यात्राको स्पष्ट कार्यदिशा तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा ‘जनताको बहुदलीय जनवाद’ (जबज)लाई आधार बनाई ‘नेपाली विशेषतासहितको समाजवाद’ स्थापना गर्ने लक्ष्य अघि सारिएको छ ।
जबजदेखि नेपाली विशेषताको समाजवादसम्म
एमालेले सन् १९९३ (वि.सं. २०४९) देखि लोकतान्त्रिक विचारधाराको रुपमा जनताको बहुदलीय जनवादलाई आधिकारिक रुपमा अंगालेको हो । तत्कालीन महासचिव मदन भण्डारीले पाँचौं महाधिवेशनमा प्रस्तुत गरेको जबजले एमालेलाई परम्परागत कम्युनिस्ट जडसूत्रबाट बाहिर निकाल्दै लोकतान्त्रिक कम्युनिष्ट पार्टीको हैसियतमा स्थापित गराएको थियो ।
यसपटकको विधान महाधिवेशनमा अध्यक्ष ओलीले त्यसै जबजको जगलाई अझ सुदृढ गर्दै ‘नेपाली विशेषताको समाजवाद’ को अवधारणा अघि सारेका छन् । उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि १० वटा समूहमा छलफल भई विभिन्न सुझावहरू संकलन भएपछि अन्तिमरुपमा महाधिवेशनले यसलाई अनुमोदन गरेको हो ।
ओलीको तर्क : "समाजवाद, तर नेपाली मौलिकतासहित"
अध्यक्ष ओलीले महाधिवेशनमा प्रतिवेदनप्रति जवाफ दिँदै भने, “हामीले मार्क्सवाद, लेनिनवाद र जबजलाई छाडेका छैनौं । यी आधारलाई अझ समृद्ध बनाएर नेपाली समाजका आवश्यकता र विशेषताअनुसार समाजवादको नयाँ बाटो बनाइरहेका छौं ।”
उनको भनाइमा, नेपाली विशेषताको समाजवाद सोभियत शैली वा प्रजातान्त्रिक समाजवादभन्दा फरक हुनेछ । यसमा प्रतिष्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीतिहरू लागू गर्दै, आधुनिक प्रविधिको उपयोगमार्फत तीव्र आर्थिक विकासलाई प्राथमिकता दिने योजना रहेको छ ।

परिपूर्ण लोकतन्त्र : अधिकार मात्र होइन, अवसर र सम्मान पनि
एमालेले प्रस्तुत गरेको समाजवादी दृष्टिकोणमा लोकतन्त्रको स्वरूपलाई ‘परिपूर्ण लोकतन्त्र’ भनेर व्याख्या गरिएको छ ।
पारित प्रतिवेदनमा भनिएको छ :
“परिपूर्ण लोकतन्त्र भन्नाले जनताले पाँच वर्षमा एक पटक मात्र भोट हाल्ने, बोल्ने वा लेख्ने अधिकारमा सीमित हुने अवस्था होइन । नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने लोकतन्त्र जनताका लागि कागलाई बेल पाके जस्तै मात्र हुन्छ । हामी यस्तो लोकतन्त्र चाहन्छौं जसमा समान अधिकारसँगै अवसर, सुरक्षा र सम्मानमा पनि बराबरी होस् ।”
यस दृष्टिले एमालेले समाजवादी लोकतन्त्रलाई पुँजीवादी लोकतन्त्रभन्दा उन्नत, सुसंस्कृत र सार्थक बनाउन प्रतिबद्धता जनाएको छ ।
विविधतामा एकता, भ्रष्टाचारविरुद्ध निरन्तर शुद्धीकरण
राजनीतिक दस्तावेजमा नेपाली समाजको विविधतालाई स्वीकार्दै ‘एकरुपतामा एकता होइन, विविधतामा एकता’ को नारा अघि सारिएको छ । यसैसँगै भ्रष्टाचार, नोकरशाहीको दुरुपयोग र सत्तासँग जोडिएका अन्य जोखिमबाट बच्न पार्टीले निरन्तर शुद्धीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
साथै, राष्ट्रिय हित, स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास समाजवादको अनिवार्य कार्यभार हुने उल्लेख गरिएको छ ।
अन्तिम लक्ष्य : समृद्ध नेपाल, सुखी नेपाली
महाधिवेशनबाट पारित राजनीतिक प्रस्तावमा ‘नेपाली विशेषताको समाजवाद’ को अन्तिम गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुने स्पष्ट गरिएको छ ।
ओलीले भनेका छन्, “नेपाली मौलिकतासहितको समाजवाद नै हाम्रो राष्ट्रिय आकांक्षा हो । यसमार्फत मात्रै हामी समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सक्छौं ।”
वैधानिक मान्यता र आगामी बाटो
महाधिवेशनले पारित गरेको विधानमा पनि ‘नेपाली विशेषताको समाजवाद’ भन्ने शब्द प्रस्तावना स्तरमै समावेश गरिएको छ । यससँगै एमालेले वैचारिक रूपान्तरणलाई संस्थागत गर्दै नयाँ राजनीतिक यात्राको प्रारम्भ गरेको छ ।
यसरी एमालेले जबजलाई वैचारिक जगको रुपमा कायम राख्दै समाजवादलाई नेपाली विशेषता, मौलिकता र परिस्थितिअनुसार विकास गर्ने कार्यदिशा तय गरेको छ, जसले आगामी दिनमा नेपालमा लोकतन्त्र र समाजवादबारे नयाँ बहस र विमर्शलाई अझ चर्काउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२