काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरूले यो विषयमा गम्भीर छलफल गर्दै सरकारसँग स्पष्टिकरण माग गर्ने निर्णय गरेका छन्।
बैठकपछि सहमहामन्त्री जीवन परियारले सरकारको निर्णयबारे छलफल गर्न कांग्रेसले तयारी गरेको जानकारी दिए। उनका अनुसार, पार्टीका मन्त्रीहरूसँग कुराकानी गरेर औपचारिक धारणा सार्वजनिक गरिनेछ।
बैठकमा पर्यटन मन्त्री बद्री पाण्डे मात्र सहभागी थिए। चीन भ्रमणमा रहेका बेला सरकारले निर्णय गरेको भएकाले उनले तत्काल सरकारी कारण प्रस्तुत गर्न सकेनन्। अन्य मन्त्रीहरूसँग संवाद गरेर पार्टीको आधिकारिक धारणा बनाइने बैठकमा निष्कर्ष निकालिएको हो।
सरकारले भदौ १९ गते फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। यस कदमलाई कांग्रेसभित्रका नेताहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात भन्दै आपत्ति जनाएका छन्। महामन्त्री गगन थापा, नेताहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादवलगायतले यस विषयमा चासो र आपत्ति प्रकट गरेका थिए।
महामन्त्री थापाले सरकारको निर्णय अनुपयुक्त भएको भन्दै पार्टीले आधिकारिक धारणा बनाउनुपर्ने बताए। उनका अनुसार, संसदमार्फत कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर्न सकिन्छ, तर सीधै बन्द गर्नु स्वीकार्य छैन।
बैठकमा सहभागी नेताहरूले सामाजिक सञ्जालले लाखौँ नागरिकलाई जानकारी, रोजगारी र व्यवसायसँग जोडेको बताउँदै ‘नियमन गर्न सकिन्छ, तर बन्द गर्न मिल्दैन’ भन्ने निष्कर्षमा पुगेका छन्।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२