काठमाडौं । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नपाएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी छन्।
सचिवालयको निर्णयअनुसार पार्टी सदस्य नभएको कारण उनलाई अधिवेशनमा सहभागी हुन रोक लगाइएको थियो। त्यसपछि भण्डारीले प्रतिनिधिहरूसमक्ष आफ्नो विचार पत्र पठाइसकेकी थिइन्।
‘मैले पत्रमार्फत आफ्ना विचार राखेकी छु, तपाईंहरूले अध्ययन गरेर सुझाव दिनुहोस्,’ भण्डारीले भनिन्, ‘एमालेको काँधमा देश विकासको ठूलो जिम्मेवारी छ। त्यसलाई पूरा गर्न भावनात्मक र सांगठनिक रूपमा सबै मिलेर अघि बढ्न आवश्यक छ। म पनि सधैँ तपाईंहरूसँगै हुनेछु।’
उनले एमाले र आफ्नो उद्देश्य एउटै रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरिन्।
भण्डारीले विगतमा पार्टीले आफूलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएकाले लामो समयसम्म प्रत्यक्ष भेटघाटमा कमी भएको स्मरण गरिन्। तर उनले प्रतिनिधिहरूसँगको सम्बन्ध अझै अटुट रहेको भन्दै सफलताको शुभकामना दिइन्।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२