काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु भएको विधान महाधिवेशनमा केवल विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने बताएका छन् ।
शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हालै उठेका केही विवादित प्रसंगहरू विधान महाधिवेशनको कार्यक्षेत्रमा नपर्ने स्पष्ट पारे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणसम्बन्धी प्रश्नतर्फ संकेत गर्दै ओलीले सो विषय महाधिवेशनको एजेन्डा नबन्ने बताए । तर, उनले भण्डारीको नाम भने स्पष्ट रूपमा उच्चारण गरेनन् ।
‘केही विषयहरू उठेका छन् । तर ती विधान महाधिवेशनसँग सम्बन्धित होइनन्,’ ओलीले भने, ‘यस्ता विषयहरू अन्य कमिटीगत छलफलमा लैजान्छौँ ।’
भण्डारीको सदस्यता नवीकरणबारे एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् भने स्थायी कमिटी सदस्य कर्ण थापाले समेत फरक मत दर्ता गराएका छन् ।
पार्टीका अनुसार ज्ञवाली र पाण्डेको फरक मत विधान महाधिवेशनमा प्रवेश पाउने छैन । तर, थापाले दर्ता गरेको मत भने अन्य कमिटीमा छलफल हुने एमालेले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२