काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले केन्द्रीय कमिटीमा पदाधिकारी नराख्ने निर्णय गरेको छ। आइतबार र सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो।
बैठकमा संरक्षक रेशम चौधरी अनुपस्थित रहेका थिए। बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी क्रमशः अद्यावधिक गर्ने कार्य सुरु गर्ने निर्णय पनि गरेको छ। केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार अद्यावधिक जनप्रतिनिधिहरुबाट सुरु हुनेछ।
‘सबैभन्दा पहिले स्थानीय तहका प्रतिनिधि, त्यसपछि प्रदेश र संघका सांसद, अनि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउनेछौं,’ पण्डितले बताए। निर्वाचन आयोगले महाधिवेशनबाट बनेको कमिटीलाई मान्यता नदिएपछि अद्यावधिक प्रक्रिया अड्किएको थियो।
रञ्जिता पक्षले विधान संशोधनको तयारी गरेको छ, जसका लागि केन्द्रीय समितिको दुई तिहाई मत आवश्यक हुन्छ। पण्डितले भने, ‘दुई तिहाई बहुमत सहजै पुग्छ। अद्यावधिकमा कसैले आपत्ति जनाउने छैन।’ बैठकमा १३ जना सहभागी भए पनि अनुपस्थित सदस्यले पनि समर्थन जनाएको जानकारी दिइएको छ।
नाउपाको विधान अनुसार २०१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। संस्थापक २१ सदस्यमध्ये हाल १६ जना मात्र सक्रिय छन्। बैठकले एकैपटक २०१ सदस्य नबनाई क्रमशः थप्दै जाने निर्णय गरेको छ। यसका लागि दस्तुर बुझाएर पनि कमिटीमा नपरेका सदस्यलाई प्रमाणसहित सम्पर्कमा ल्याइनेछ।
रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने अधिकार जिल्ला कमिटीलाई दिइएको छ। तर, पार्टीभित्रको विवादका कारण नाउपा निर्वाचन आयोगमा आधिकारिक रुपमा दर्ता हुन सकेको छैन। रेशम चौधरी पक्षले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ भने रञ्जिता पक्षले जिल्ला कमिटीमार्फत उम्मेदवार छान्ने निर्णय गरेको छ।
बैठकले संगठन विभाग प्रमुखमा लक्ष्मण किशोर चौधरी र प्रवक्तामा दामोदर पण्डितलाई जिम्मेवारी दिएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२