काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्ने हालको निर्णय सच्याउने परिस्थिती बन्ने विश्वास व्यक्त गरेका छन्।
सोमबार राजधानीमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले भण्डारीको सदस्यता रोकिएको निर्णय स्थायी नहुने दाबी गरे। “विद्या भण्डारीलाई पार्टी प्रवेश रोक्छ जस्तो मलाई लाग्दैन। स्थिति बदलिन्छ, एमाले पनि परिस्थितिले फर्किन बाध्य हुन्छ,” पाण्डेको भनाइ थियो।
पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउने निर्णय गरेको थियो। तर उक्त निर्णयमा पाण्डेले फरक मत राखेका थिए। उनले सो कुरा बैठकपछि पनि पार्टी नेतृत्वलाई स्मरण गराएको जानकारी दिए।
पाण्डेले एमालेमा अन्ततः सदस्यहरूको चाहना र संकल्प नै निर्णायक हुने दाबी गरे। “एमालेका सदस्यभन्दा ठूलो शक्तिशाली कोही छैन। सदस्यहरूको निर्णयपछि नेताहरूले पनि केही गर्न सक्दैनन्,” उनले भने।
उनले एमाले पार्टी भित्र बहस र वैकल्पिक बाटोबारे छलफल सधैं चलिरहने उल्लेख गर्दै, “हामी एउटै बाटोमा हिँडिरहेका छौं तर अर्को बाटोको बहस पनि सँगसँगै चल्छ। एमाले आन्दोलन र बहसको पार्टी हो,” भने।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२