काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री भएपछि उनको यो दोस्रो चीन भ्रमण हो, जसमा उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सहभागी भएका हुन् ।
भदौ १८ गते बुधबारसम्म चीनमै रहने ओलीले आफ्नो भ्रमणका क्रममा उत्तर चीनको तियान्जिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । सम्मेलनको उद्घाटन राष्ट्रपति सीले गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरूको उपस्थिति रहनेछ ।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मा लगायतका उच्च अधिकारीहरू रहेका छन् ।
यस अवधिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता गर्ने कार्यक्रम छ भने १७ भदौमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन पनि गर्नेछन् । साथै उनले चीनका उपराष्ट्रपति हान झेङसहित अन्य मुलुकका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।
भ्रमणकै क्रममा ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुनेछन् ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२