काठमाडौं । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुटेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तहबाट सिफारिस भएका चार आकांक्षीलाई काठमाडौं बोलाएर सामूहिक छलफल गरेका छन्।
रुपन्देही–३ दिवंगत नेता दीपक बोहराले जितेको क्षेत्र हो। यसपालि राप्रपालाई एमालेको साथबिना नै एक्लै प्रतिस्पर्धा गरेर बोहराको राजनीतिक विरासत जोगाउनु पर्ने चुनौती छ। त्यसैले उम्मेदवार छनोटमा पार्टीले विशेष सावधानी अपनाइरहेको देखिन्छ।
सिफारिस सूचीमा बोहरा परिवारकै तीन जना छन्—दुई छोरा गौरव र प्रज्ज्वल बोहरा तथा नातिनी स्वाती थापा। उनीहरुसँगै बसन्त विक्रम शाही पनि आकांक्षीको सूचीमा छन्। अध्यक्ष लिङदेनसँगको छलफलपछि चारैजनाले पार्टी जसलाई उम्मेदवार बनाए पनि साथ दिने र बागी नबन्ने लिखित सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
स्रोतका अनुसार, उम्मेदवार बोहरा परिवारकै सदस्य हुने सम्भावना लगभग निश्चित छ। खासगरी गौरव वा प्रज्ज्वलमध्ये एकजनालाई अघि सार्ने चर्चा बलियो छ।
गौरव बोहरा जेठी पत्नी मञ्जुका छोरा हुन्। पेशाले बुद्ध एयरका पाइलट उनले गत निर्वाचनमा बुवालाई जिताउन सक्रिय भूमिका खेलेका थिए। अर्का छोरा प्रज्ज्वल भने कान्छी पत्नी उन्नतीशिलाका छोरा हुन्। अमेरिकाको नागरिकता त्यागेर नेपाल फर्किएका प्रज्ज्वल आईटी इन्जिनियर हुन् र हाल राप्रपाभित्र सक्रियता बढाएका छन्। पार्टीका स्थानीय नेताहरूको बुझाइमा प्रज्ज्वललाई उम्मेदवार बनाएमा जित्न सजिलो हुने देखिन्छ।
नातिनी स्वाती थापा पनि पार्टीकी केन्द्रीय सदस्य तथा सक्रिय कार्यकर्तामध्ये एक हुन्। हजुरबुवाको चुनावी अभियानदेखि सामाजिक क्षेत्रमा उनी निरन्तर लागेकी छिन्।
यसअघि बोहराका छोरामध्ये एकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उम्मेदवार बनाउन खोजेको थियो। गौरव बोहरासँग अध्यक्ष रवि लामिछानेले हिरासतकै समयमा भेटेर कुरा गरे पनि त्यो पहल सार्थक हुन सकेन।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२