काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गरेका छन्। उनले भण्डारीले पार्टीमा प्रवेश गरेर अध्यक्षमा उम्मेदवारी दिए पनि जित्न नसक्ने दाबी गर्दै, हार्ने अवस्थामा पार्टीविरुद्ध जाने र भीम रावलजस्तै कारबाहीको प्रक्रियामा पर्न सक्ने चेतावनी दिएका छन्।
बुधबार काठमाडौं जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँगको छलफलमा ओलीले भने, “नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने कुरा होइन। परिस्थिति अनुसार डटेर सामना गर्न सक्ने क्षमता चाहिन्छ। भण्डारीले अध्यक्षमा उठे हार्नुहुन्छ, अनि पार्टीविरुद्ध लाग्दा भीम रावलले भोग्नुपरेको अवस्थामै पुग्नुहुन्छ।”
ओलीका अनुसार यही कारण आफूले भण्डारीलाई राजनीतिमा फर्कनभन्दा हालको सम्मानजनक हैसियतमै बस्न सुझाव दिएका हुन्। उनले भने, “अपमानजनक स्थितिमा जानुभन्दा अहिलेको सम्मानजनक भूमिकामै रहनु उपयुक्त हुन्छ भनेर मैले उहाँलाई आग्रह गरेको थिएँ।”
तर भण्डारीले च्यासलले सदस्यता खोस्यो, पार्टी नेतृत्वले देश चलाउन सकेन भन्ने जस्ता मिथ्या आरोप सार्वजनिक गर्न थालेको ओलीको आरोप छ। उनले भण्डारीका नजिकका साथीहरूले यसरी उत्तेजित नगरी सम्झाउनुपर्ने बताए।
ओलीले भण्डारीले मिडिया र अन्य दलका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेको गुनासो पनि गरे। उनका अनुसार, यस्ता गतिविधिले पार्टीभित्र एकतालाई कमजोर पार्ने भएकाले केन्द्रीय कमिटीले उनलाई सदस्यता नदिने निर्णय गरेको हो।
“भण्डारीले औपचारिक प्रक्रियाबाट सदस्यता खोज्नेभन्दा मिडिया र अन्य नेतासँग सक्रियता देखाउन थालेकी छिन्,” ओलीले भने, “यस्तो गतिविधिले पार्टी र आन्दोलन दुवैको सम्मानमा आँच पुग्ने भएकाले सदस्यता नदिने निष्कर्ष निकालिएको हो।”
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२