काठमाडौं । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार गर्ने सहमति भएको विषयमा नेकपा (एमाले) ले कडा आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा पार्टीका मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै छिमेकी दुई मुलुकबीच भएको व्यापार सम्झौतामा नेपाललाई बाइपास गरिएको भन्दै विरोध जनाए।
‘नेपाली भूमिमाथि नेपालको अनुमति र सहभागिताबिना कुनै पनि सम्झौता स्वीकार्य हुँदैन,’ उनले भने, ‘नेपाल सरकारको स्वीकृतिबिना भारत–चीनबीच भएको यो सहमतिप्रति एमाले असहमति प्रकट गर्दछ।’
बर्तौलाले मुलुकहरूको आकार, जनसंख्या वा भौगोलिक विस्तार फरक भए पनि सार्वभौमिक अधिकार र स्वाधीनताको सवालमा नेपाल सानो ठान्न नहुने स्पष्ट गरे।
उनले थपे, ‘नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि आघात हुने गतिविधि भएको खण्डमा हामी सशक्त प्रतिवाद गर्नेछौँ। यो विवाद समाधानका लागि सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न जरुरी छ।’
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२