काठमाडौं । मेडिकल व्यवसायी तथा पछिल्लो समय राजसंस्था पुनर्स्थापनाका पक्षमा सक्रिय देखिएका दुर्गा प्रसाईं अब नयाँ राजनीतिक दल खोल्ने तयारीमा छन्। सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले नयाँ दल गठनको घोषणा गरेका हुन्।
राजनीतिक दल दर्ता गर्ने प्रक्रिया, दलको नाम र समयसीमा भने उनले अझै खुलाएका छैनन्। तर, उनले ‘फर्स्ट नेपाल, फर्स्ट नेपाली’ भन्ने नारासहित राष्ट्रवादी धारको नयाँ दल बनाउने तयारी पक्का भएको जानकारी दिएका छन्।
प्रसाईं पछिल्लो समय राजसंस्था पुनर्स्थापनाका लागि आह्वान गर्दै आएका थिए। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको विरोध कार्यक्रममा दुई जनाको मृत्यु र धेरै घाइते भएपछि उनी पक्राउ परेका थिए। असम हुँदै काठमाडौं ल्याइएका प्रसाईं केही समय हिरासत र कारागार बसेर उच्च अदालत पाटनको आदेशअनुसार गत साउन १९ गते तीन लाख धरौटीमा रिहा भएका थिए।
धरौटीमा छुटेको दुई साताभित्रै उनले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उनले करिब १५ मिनेटको भिडियो देखाएर आफ्ना एजेन्डा प्रस्तुत गरे। भिडियो ‘फर्स्ट नेपाल, फर्स्ट नेपाली, अब देश निर्माणको अभियान’ भन्ने नारा राखेर सुरु भएको थियो।
प्रसाईंका प्रमुख एजेन्डा
नेपाल नेपालीकै हातले बनाउने, व्यापार पनि नेपालीले गर्ने।
वैदिक सनातन धर्मसहित हिन्दु अधिराज्य स्थापनाको पक्षधर।
प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था।
युवालाई सीपअनुसार रोजगारी नेपालमै दिने।
खाडी मुलुकका जेलमा रहेका युवालाई फर्काउने।
भुइँमानिसले लिएको २० लाखसम्मको ऋण मिनाहा गर्ने।
२० लाखमाथिको ऋणलाई २५ वर्षसम्म ५ प्रतिशत ब्याजमा तिर्न दिने।
सहकारी बचतकर्ताको रकम राज्यले तिर्ने।
६५ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार र मासिक १० हजार भत्ता।
२०४६ सालपछि नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी गैरकानुनी सम्पत्ति राष्ट्रियकरण गर्ने।
निजामती, प्रहरी, सेना र शिक्षकको तलब मासिक १ लाख पुर्याउने।
यी सबै एजेन्डामा राजसंस्था पुनर्स्थापनाको कुरा भने समावेश गरिएको देखिएन।
राजावादी आन्दोलनसँग दूरी
पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यपछि प्रसाईंले राजसंस्थाका पक्षमा माहौल बनाउन भूमिका खेलेका थिए। त्रिभुवन विमानस्थलमा राजाको स्वागतदेखि तीनकुनेको प्रदर्शनसम्म उनको सक्रियता देखिएको थियो। तर, चैत १५ को हिंसात्मक घटनापछि आन्दोलन शिथिल भयो।
त्यस क्रममा राजावादी समूहबीच आन्तरिक आरोप–प्रत्यारोप चले। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई पार्टी पदबाट हटाएका थिए।
प्रसाईंले भने आफू राजावादी नभएको प्रष्ट पारे। उनले भने, “म राष्ट्र र नागरिकको माया गर्ने मान्छे हो, राजावादी होइन। राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन्।”
उनले राप्रपा र अन्य राजावादी नेताहरूले चैत १५ को आन्दोलनलाई बिगारेको दाबी गरे। रवीन्द्र मिश्र र धवल शम्शेर राणाप्रति समेत उनले असन्तोष व्यक्त गर्दै, आफूलाई आन्दोलनको सम्पूर्ण जिम्मेवार ठहर्याइएको तर उनीहरू भने मञ्चमा बसेर पाहुनाको भूमिका खेलिएको बताएका थिए।
राप्रपासँग दूरी
प्रसाईंले आफू राप्रपामा कहिल्यै नजाने स्पष्ट गरे। उनले राप्रपा अध्यक्ष लिङ्देनलाई लक्ष्य गर्दै “चैत १५ गते मलाई धोका दिएको” आरोपसमेत लगाए।
उनले भने, “राप्रपासँग भिड्ने होइन। तर म त्यहाँ जान्नँ। अबको यात्रा नयाँ दलमार्फत हुनेछ। त्यो दल राजावादी नभएर राष्ट्रवादी हुनेछ, भुइँमानिसका लागि हुनेछ।”
‘फेरि जेल जान तयार छु’
हिरासत र कारागार बसे पनि आफू गलेको छैन भन्ने प्रसाईंको भनाइ थियो। “जेलमा सुख भएन भनेर मैले रोएको छु? फेरि जेल जान तयार छु। तर अबको यात्रा राजनीतिक यात्रा हो, नयाँ शैलीमा अघि बढ्छौं,” उनले भने।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२