काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। राजधानीमा शुक्रबार आयोजित एकता समारोहमा बोल्दै गौतमले चार वर्षअघि सुरु गरेको प्रयास आज साकार भएको भन्दै गहिरो सन्तुष्टि व्यक्त गरे।
"आज म अत्यन्त खुसी छु। मैले व्यक्त गर्न सक्दिनँ, किनकि यो केवल सामान्य खुसी होइन—मनको गहिराइबाट आएको अनुभूति हो। चार वर्षदेखि एकीकृत समाजवादीमा एकता गर्ने लक्ष्य लिएर लागेँ, तर यहाँसम्म आइपुग्न धेरै हन्डर र ठक्कर खाँदै आएको छु," उनले भने।
गौतमले आफ्ना संघर्षका अनुभव सुनाउँदै भने, "म त एसएलसी पनि बल्लतल्ल थर्ड डिभिजनमा पास गरेको मान्छे हुँ। तर आज म विचारमा ब्रह्माण्डमा विचरण गर्छु, कहिले क्वान्टम सिद्धान्तमा, कहिले दर्शनमा।"
उनले अबको मुख्य लक्ष्य समाजवाद ‘उन्मुख’ होइन, समाजवाद निर्माण नै भएको प्रस्ट पारे। "समाजवाद उन्मुख भन्नु अब गलत हो। समाजवाद निर्माण गर्ने हो, त्यसपछि कता उन्मुख हुने हो त्यो पछि आउने कुरा हो। हामी अब मागेर होइन, दिन सक्ने अवस्थामा पुग्ने संकल्प गरौँ," उनले भने।
गौतमले आफू मात्र होइन, ७५ सदस्यीय केन्द्रीय समिति, एक प्रदेश समिति, उपत्यका समिति र ९ वटा जिल्ला समितिको समर्थनसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको बताए। "धेरैजसो कमरेडहरू पनि मेरो साथमा छन्।"
२०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न आफूले केपी शर्मा ओलीलाई बल्लबल्ल मनाएको अनुभव सुनाउँदै उनले भने, "ओली कहिल्यै तयार हुनु भएन। माधव नेपाल र म चाहिँ तयार थियौँ। अन्ततः उहाँलाई पनि मनाएर पार्टी एकता सम्भव भएको थियो।"
गौतमले माधव नेपालसँग २०३६ सालदेखि चिनजान रहेको उल्लेख गर्दै विगतमा आपसी सहयोग र संघर्षका अनेक घटनाहरू सुनाए। उनले झलनाथ खनालको अध्यक्ष पद जोगाउन स्थायी कमिटीमा बहुमतको प्रस्ताव रोक्न आफैँ अगाडि सरेको प्रसंग पनि स्मरण गरे ।
"त्यो समय धेरै कठिन थियो। पार्टी कार्यालय बल्खुमा माइन्युट लेखिँदै थियो, झलनाथलाई हटाउने। म भनेँ— नलेख्नुस्। केपी ओलीले खोसेर लेख्न लाग्दा पनि म ठाडो उभिएँ। मैले उहाँलाई भनेँ— लेख्नुभयो भने म माइन्युट खोसेर आगो लगाइदिन्छु। त्यसपछि झलनाथको हात समाएर बाहिर निस्केँ।"
गौतमले अझै पनि आफू आवश्यकता परे विचारका लागि शरीरसहित, आँटसहित उपस्थित हुन तयार रहेको बताए। "यी हातहरू आवश्यकता परे हतियारजस्तै प्रयोग हुन्छन्। म विचारमा विश्वास गर्छु, तर आवश्यकता परे प्रतिकार गर्छु," उनले जोड दिए।
उनले कुनै पदको इच्छा नरहेको तर कामको जिम्मेवारी दिन आग्रह गरे। "मलाई पद होइन, काम दिनुस्। म रातदिन जुनसुकै बेला काम गर्न तयार छु। म आन्दोलनको व्यक्ति हुँ, मेरो नेतृत्वमा आन्दोलन कहिल्यै हारेको छैन," उनले भने।
कार्यक्रमको समापनतर्फ गौतमले पार्टी एकता र समाजवाद निर्माणका लागि आफूले थालनी गरेको योजनालाई सबै मिलेर सफल पार्ने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०८२