डा. जनार्दन सुवेदी
प्रस्तावनाः
केही दिनअघि मैले अन्नपूर्ण पोस्ट दैनिकमा एउटा समाचार पढेँ– जसमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका रहेछन्, ‘पार्टीका नेताहरूले गरेको योगदानलाई जनतामाझ लैजानुपर्ने समय आएको छ ।’ यो पढेर म केही समय हाँसेँ । तर त्यसपछि म सोच्न बाध्य भएँ, के यो वाक्य नेपाली जनताको चेतना, विवेक, र बलिदानमाथि गरिएको एउटा घृणास्पद व्यंग्य होइन ?
त्यसैले मैले यो लेख लेख्ने निधो गरे– उनी र उनकी धर्मपत्नी, वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको योगदानलाई जनतामाझ ल्याउन ।
१. सत्ताको सिन्डिकेट : पार्टीको निजीकरण
शेरबहादुर देउवाले लामो समय नेपाली कांग्रेसको नेतृत्व सम्हाल्दा पार्टीको संस्थागत बलभन्दा निजीकृत सत्ता सञ्जाल निर्माणलाई प्राथमिकता दिए । पार्टीको आन्तरिक लोकतन्त्र, नीति बहस, र वैचारिक प्रशिक्षण खुम्चिएर चाकरी, साइनो, र सिन्डिकेटमा सीमित भयो ।
उनको यो संरचनामा सबैभन्दा महत्वपूर्ण र अदृश्य शक्ति थिइन्– आरजु राणा देउवा । उनले पार्टीको निर्णय, मन्त्रिपरिषद् गठन, दातृ निकायको पहुँच, ठेक्का वितरण, र ब्युरोक्रेसीमा समेत निर्णायक हस्तक्षेप गरिन् ।
२. आरजुबिना असहाय शेरबहादुर
आरजु राणाले कहिल्यै कुनै चुनाव जितेकी छैनन् । तर, उनी परराष्ट्रमन्त्री बन्न सफल भइन्, संविधानको मूल्य, लोकतान्त्रिक संस्कार, र जनताको विश्वास सबैमाथि लात हानेर । उनी जननिर्वाचित होइनन्, तर उनीकहाँ स्वीकृति नलिएर सरकारमा कुनै निर्णय गर्न सकिँदैन । वास्तवमा आजको सरकार शेरबहादुर र आरजुबीचको सत्तात्मक सहमतिमा चलिरहेको छ ।
३. एनजिओ नेटवर्क र शक्तिको अपारदर्शी सञ्जाल
आरजु राणा देउवाले महिला अधिकार, स्वास्थ्य, र विकासका नाममा थुप्रै गैरसरकारी संस्था सञ्चालन गर्दै आइन् । ती संस्थाहरू विकास कार्यमा भन्दा राजनीतिक सञ्जाल, लाभ, र पहुँच विस्तारमा बढी केन्द्रित देखिन्छन् ।
४. स्वास्थ्यदेखि परराष्ट्रसम्म आरजुको निर्णय
स्वास्थ्य मन्त्रालयमा आरजुको प्रभावका कारण कतिपय निर्णयहरू प्रत्यक्ष रूपमा हस्तक्षेपका रूपमा बाहिर आएका छन् । आज उनी परराष्ट्रमन्त्री भएकी छन्, नेपालजस्तो कूटनीतिक रूपमा संवेदनशील देशको नेतृत्व त्यस्तो व्यक्तिलाई दिइएको छ, जसको कूटनीतिक प्रशिक्षण, संसद्मा बहस वा जनमतबाट प्राप्त वैधता केही छैन ।
५. भुटानी शरणार्थी घोटालामा मौन साझेदार
भुटानी शरणार्थी काण्ड नेपालमा भएको सबैभन्दा ठुलो संगठित घोटालामध्ये एक हो । यसमा कांग्रेस निकट नेताहरूको संलग्नता प्रमाणित भइसकेको छ । आरजु राणाको नाम प्रत्यक्ष रूपमा आए पनि अनुसन्धान यथावत रह्यो ।
६. विचारहीनता र नैतिक पतनको नेतृत्व
शेरबहादुर र आरजु राणाको नेतृत्वमा नेपाली कांग्रेसले आफ्नो वैचारिक दिशा गुमायो । पार्टी अब विचार होइन, व्यवस्था र पहुँचको राजनीतिमा सीमित भयो ।
७. परराष्ट्र नीति र राष्ट्रिय स्वाधीनताको हनन
आरजु राणाको परराष्ट्रमन्त्री पदमा नियुक्तिले नेपालजस्तो देशमा राष्ट्रिय स्वाधीनताको गहिरो प्रश्न उठाएको छ । जस्तैः एमसिसी, बिआरआई एसपिपीलगायत जटिल कूटनीतिक विषयमा उनका अस्पष्ट, असम्बन्धित वा पक्षपाती अभिव्यक्तिहरूले नेपाललाई कठिन स्थितिमा पारिरहेको छ ।
निष्कर्ष : कथित योगदानको विवेचना
शेरबहादुर देउवा र आरजु राणाको योगदान नेपाली जनताको आँखामा प्रष्ट छ–संविधानको अपमान, संस्थाको खण्डितीकरण, जनताको आवाजप्रति उपेक्षा, र सत्ताको निजीकरण । शेरबहादुर देउवाले ‘अब नेताहरूको योगदान जनतामाझ लैजानुपर्छ’ भनेर भनेका थिए । म उनीसँग पूर्ण सहमत छु । तर, त्यो योगदान जनतामाझ लैजाँदा चाहिन्छ– ऐतिहासिक चेतावनीको रूपमा, चेतनाको घन्टीको रूपमा, र संस्थागत क्षरणको प्रतीकको रूपमा ।
मलाई आशा छ– मैले पार्टी, जनता र राष्ट्रका लागि उनीहरू दुवैको ‘योगदान’ प्रति न्याय गर्न सकेको छु ।
(डा. सुवेदी मियामी विश्वविद्यालय ओहायोमा समाजशास्त्रका प्राध्यापक हुनुहुन्छ)
प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२