२१ माघ, कञ्चनपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कञ्चनपुरको वाणीस्थित दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले शान्तिसुरक्षा प्रहरीको एक्लो प्रयासले असम्भव रहेको औँल्याउनुभयो । नागरिक अपेक्षाअनुरुप सेवा गर्न प्रहरीको कार्यशैली, प्रविधि र दक्ष जनशक्ति आवश्यक हुने उहाँको भनाइ थियो ।
प्रहरीलाई नयाँ चुनौती पनि समयक्रमअनुसार थपिएको बताउँदै उहाँले प्रहरीप्रति जनअपेक्षा पनि बढ्दै गइरहेको धारणा राख्नुभयो । प्रहरीलाई राम्रो बनाउने दायित्व नागरिक समाजको पनि भएको बताउँदै अर्यालले स्थापनाकालदेखि अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी ऐनले तोकेको जिम्मेवारी प्रहरी सङ्गठनले बहन गर्दै आइरहेको बताउनुभयो । दङ्गा नियन्त्रण गणमा दुई चरणमा निर्माण भएका ब्यारेक, कार्यालय भवन, क्वार्टर गार्ड लगायतका भवन उद्घाटन गरिएका हुन् । त्यसैगरी, केही भवन अझै निर्माणाधीन अवस्थामा रहेको दङ्गा प्रहरी नियन्त्रण गणका गणपति प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३