२० माघ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । अखिल नेपाल किसान महासङ्घले काठमाडौँमा आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलन शुभारम्भ गर्दै अध्यक्ष ओलीले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको हो । एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतमले सबै दलको सहयोग भए १० वर्ष्भित्रमा नेपालमा समाजवाद आउने दाबी गर्नुभयो ।
सम्मेलनले नवउदारवाद र यसले किसानलाई पारेको नकारात्मक प्रभावका विषयमा छलफल गरी किसानको हक अधिकार, खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमि अधिकारका क्षेत्रमा नयाँ नीति तर्जुमा गर्दै नयाँ रणनीतिक योजनासमेत बनाउने महासङ्घका महासचिव बलराम बास्कोटाले जानकारी गराउनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका १५ किसान सङ्गठनका अगुवाको सहभागिता छ ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७३