गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१, सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङ रहेका छन् । उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मनास्लुको क्याम्प–२ बाट बेसक्याम्प फर्किने क्रममा हिँड्न गाह्रो भएपछि बसेकै ठाउँमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
उनका अनुसार स्थानीय तथा ट्रेकिङ एजेन्सीसँगको समन्वयमा शव उद्धारको पहल भइरहेको छ ।
सेङ एट के एक्सपिडीसन कम्पनीमार्फत स्वीकृति लिएर मनास्लु आरोहणका लागि गएका थिए । उनी भदौ २२ गते आरोहणका लागि सामागाउँ पुगेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३