काठमाडौं । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासनविज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरणविज्ञ अनिल पोखरेल सदस्य छन् ।
समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोसी–ल्हेन्दे नदी प्रणाली हुँदै सम्पूर्ण तटीय क्षेत्रमा स्थलगत अध्ययन गर्नेछ । मन्त्रालयका अनुसार बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिम, घटनाक्रम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिनेछ ।
मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार घटनालाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम क्रमशः जोडिँदै विकसित भएको सम्भावित ‘श्रृंखलाबद्ध विपद्’का रूपमा अध्ययन गर्न लागिएको हो ।
यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रारम्भिक अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनले रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोसी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाण फेला नपरेको जनाएको थियो ।
त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको केन्द्रले सुझाव दिएको थियो ।
अब समितिले भूगर्भ, तापक्रम, पानीको बहाव, हिमनदी तथा अन्य सम्बन्धित पक्षको समष्टिगत अध्ययन गर्नेछ । भोटेकोसी बाढीले त्रिशूली करिडोरका ऊर्जा पूर्वाधारमा प्रभाव पारेकाले भविष्यमा यस्ता विपद्बाट पूर्वाधारलाई कसरी सुरक्षित बनाउने भन्ने विषयसमेत अध्ययनमा समेटिने प्रवक्ता शाक्यले बताए ।
मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा हुनेछ । पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोसी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्म घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टान तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध अध्ययन हुनेछ ।
दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ । तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना, तीव्रता वा पूर्वअवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक मूल्यांकन गरिनेछ ।
अध्ययनमा मौसम तथा जलवायु, जलप्रवाह तथा हाइड्रोलोजिकल तथ्यांक, हिमनदी तथा हिममण्डलसम्बन्धी तथ्यांक, भूगर्भीय तथा भूरूपात्मक सूचना, रिमोट सेन्सिङ तथा जीआईएस तथ्यांक प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।
स्थलगत अनुसन्धानका क्रममा चट्टानको अवस्था, चिरा तथा कमजोर भू–भाग, ढलानको स्थिरता, पहिरोको सम्भावना, नदीको आकृति तथा अवसादको बहावमा भएको परिचालनलगायत विषयको अध्ययन गरिनेछ । घटनाको स्रोत क्षेत्रमा रहेको चट्टानको आकार, क्षेत्रफल, सम्भावित आयतन तथा तौल, खसेको भाग र चट्टान खस्नुको सम्भावित कारणसमेत अध्ययन गरिनेछ ।
त्यस्तै, घटनाअघिको वर्षा, तापक्रम, हिमपात, हिउँ पग्लने अवस्था तथा उच्च हिमाली क्षेत्रको जलवायुगत अवस्थाको विश्लेषण गरिनेछ । दीर्घकालीन तापक्रम तथा वर्षाको प्रवृत्ति, चरम वर्षाका घटना, नदीको बहाव र पुनरावृत्ति अवधिसमेत मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ ।
हिमनदीको आकार तथा परिवर्तन, मास ब्यालेन्स, हिमताल तथा हिमनदीय जलविज्ञान, जम्ने–पग्लिने प्रक्रिया र स्थायी तुषारभूमिको अवस्थासमेत अध्ययनको हिस्सा हुनेछ ।
समितिले उच्च हिमाली क्षेत्रमा भएको परिवर्तन, चट्टान वा हिम–चट्टानको अस्थिरता, मास मुभमेन्ट, नदीमा अवसादको प्रवेश तथा परिचालन, पानी र अवसादको मिश्रित बहाव र त्यसको अनुप्रवाह प्रसारणलगायत सम्भावित बहु–जोखिमको श्रृंखलासमेत अध्ययन गर्नेछ ।
भोटेकोसी–ल्हेन्दे नदी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेटिनेछ । आवश्यकताअनुसार वैज्ञानिक सहकार्य तथा तथ्यांक आदानप्रदानको संयन्त्र विकास गर्ने प्रस्तावसमेत गरिएको छ ।
समितिले सम्भावित उद्गमस्थलको स्थलगत भ्रमण गरी तस्बिर तथा भिडियो अभिलेख तयार गर्नेछ भने आवश्यकताअनुसार ड्रोन तथा स्याटेलाइट अवलोकनसमेत प्रयोग गरिनेछ ।
मन्त्रालयले विज्ञ समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिएको छ । अध्ययनपछि घटनाको वैज्ञानिक प्रकृति र उत्पत्तिबारे प्रमाणका आधारमा बाढीलाई उपयुक्त वैज्ञानिक नाम दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।
अध्ययनबाट प्राप्त निष्कर्षले भोटेकोसी बाढीको वास्तविक प्रकृति र जलवायु परिवर्तनसँगको सम्बन्धबारे वैज्ञानिक आधार तयार गर्नुका साथै आगामी दिनमा हिमाली क्षेत्रमा पूर्वाधार योजना, उत्थानशील विकास र विपद् जोखिम न्यूनीकरणका लागि आधार प्रदान गर्ने मन्त्रालयको विश्वास छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३