काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे ।
प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीबाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए । जलवायु परिवर्तनका कारण यस्तो विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै उनले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभाव न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।
भेटमा प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रमा रहेको सम्भावनाबारे चर्चा गर्दै पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने बताए । उनले नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने धारणा राखे ।
कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् ।
उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराइन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३