काठमाडौं । मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना साहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सार्वजनिक अपिल गर्दै नगरपालिकामा तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गरेकी छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै जारी गरिएको अपिलमा नगरप्रमुख साहले नयाँ सरकार गठन भएपछि संघीय सरकारको हस्तक्षेपका कारण नगरपालिका अस्तव्यस्त बनेको आरोप लगाएकी छन् ।
उनले आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म नगरपालिकाले ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति गर्दै आएको दाबी गर्दै आर्थिक वर्ष २०८२/८३ मा बजेट खर्च ५०.६८ प्रतिशतमा झरेको उल्लेख गरेकी छन् ।
संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतले विद्युत, खानेपानी, सिँचाइ महसुल, एकीकृत दलित बस्ती निर्माण, पशु पकेट विकास, बहुक्षेत्रीय पोषण कार्यक्रम तथा खानेपानीका लागि डिप बोरिङलगायतका शीर्षकमा बजेट खर्च नगरेको उनको आरोप छ । त्यसका कारण दलित, विपन्न, सीमान्तकृत समुदाय, कृषक तथा सुख्खाबाट प्रभावित नागरिक आधारभूत सेवाबाट वञ्चित भएको अपिलमा उल्लेख छ ।
नगरप्रमुख साहका अनुसार प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएपछि नगरपालिकाको १०औँ बजेट अधिवेशनसमेत असार मसान्तभित्र सम्पन्न हुन सकेन । सम्पर्कविहीन अधिकृतलाई कारबाही गर्नुको सट्टा अन्यत्र सरुवा गरिएको र त्यसका कारण जनजीविकासँग जोडिएका करोडौँ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको उनको दाबी छ ।
उनले हाल पनि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको बताएकी छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको केही समयपछि भदौ ५ गतेदेखि बिना जानकारी अनुपस्थित रहेको र निजामती सेवाबाट अवकाश लिएको बुझिएको साहले उल्लेख गरेकी छन् ।
अपिलमा उनले प्रधानमन्त्री शाहलाई विभिन्न पाँच विषयमा प्रश्नसमेत गरेकी छन् । कर्मचारीको दुईदेखि आठ महिनासम्मको तलब, जनप्रतिनिधिको चार महिनाको सुविधा तथा वडा सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन नसकेको भन्दै उनले यसको जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेकी छन् ।
त्यस्तै, वडा नम्बर ९ स्थित सोनरनिया एकीकृत दलित बस्ती निर्माणको भुक्तानी रोकिँदा आयोजना अवरुद्ध भएको, ५ हजारभन्दा बढी लाभग्राहीको विद्युत महसुल भुक्तानी नभएपछि विद्युत प्राधिकरणले लाइन काट्न थालेको तथा ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत ३ सयभन्दा बढी विपन्न लाभग्राहीको अनुदान रकम भुक्तानी हुन बाँकी रहेको उनले बताएकी छन् ।
नगरपालिकामा इन्धन, अतिथि सत्कार, इन्टरनेट तथा फोहोरमैला व्यवस्थापनसमेत प्रभावित भएको उल्लेख गर्दै साहले शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलनमा जाने अवस्था बनेको बताएकी छन् ।
प्रधानमन्त्री शाह स्वयं काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा प्रमुख प्रशासकीय अधिकृत नहुँदाको समस्या भोगिसकेको स्मरण गराउँदै उनले मौलापुर नगरपालिकालाई थप अस्तव्यस्त हुनबाट जोगाउन अविलम्ब प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आग्रह गरेकी छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३