काठमाडौं । पश्चिम एसियामा जारी तनावबीच होर्मुज जलमार्गमा तेल ट्यांकर ‘एल गैया’मा आगलागी भएको छ । अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)का अनुसार शनिबार ट्यांकर क्षतिग्रस्त भएको र चालक दलका दुई सदस्य अझै बेपत्ता छन् ।
मंगलबार सार्वजनिक भएको भिडियो फुटेजमा ट्यांकरबाट बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ ।
इरानी समाचार एजेन्सी फार्सले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई उद्धृत गर्दै ट्यांकर प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्दा समुद्री बारुदी सुरुङमा परेको दाबी गरेको छ ।
तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानी दाबी अस्वीकार गरेको छ । सेन्टकमका अनुसार ‘एल गैया’लाई गत महिना इरानी मिसाइलले प्रहार गरेको थियो, जसबाट जहाज सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको थियो । त्यसपछि शनिबार जहाज ओमानको तटमा निष्क्रिय अवस्थामा रहँदा ड्रोन आक्रमणमा परेको अमेरिकी दाबी छ ।
ब्रिटिस नौसेनासँग सम्बद्ध युके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)ले पनि होर्मुज जलमार्गमा एक जहाजमाथि अज्ञात प्रक्षेप्यास्त्र प्रहार भएको र त्यसपछि आगलागी भएको जनाएको थियो । घटनापछि चालक दललाई उद्धार गरिएको थियो ।
ओमानी अधिकारीहरूका अनुसार आगलागी नियन्त्रणमा लिएपछि ‘एल गैया’लाई बन्दरगाहतर्फ तानिँदै छ । २३ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने दुई जनाको खोजी जारी छ ।
‘एल गैया’ इरानले होर्मुज जलमार्गमा लागू गरेको सञ्चालनसम्बन्धी प्रोटोकल उल्लंघन गरेको आरोप लगाएका जहाजमध्ये एक हो । घटनाको कारणबारे इरान र अमेरिकाका दाबी फरक रहेकाले वास्तविक घटनाक्रम स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३