काठमाडौं । नेकपा (एमाले)को पुनर्गठन कार्यदलको बैठक जारी छ । काभ्रेको बल्थलीस्थित रिसोर्टमा शनिबार (भदौ २७) साँझदेखि कार्यदलका १५ जना नेता निरन्तर छलफलमा छन् ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कार्यदलको बैठक अझै चलिरहेको छ । उनका अनुसार बैठक सोमबार (भदौ २९) सकेर नेताहरू फर्कने तयारीमा छन् ।
कार्यदल बैठक निष्कर्षमा पुगेको छ कि छैन भन्नेबारे भने बाहिर जानकारी नभएको अधिकारीले बताए । “के भयो भन्ने कार्यदलमा रहनुभएका १५ नेताबाहेक अरूलाई जानकारी छैन,” उनले भने ।
यसअघि शुक्रबार (भदौ २६) पार्टी मुख्यालय च्यासलमा बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए ।
पोखरेलको प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्ने प्रस्ताव गरिएको थियो । त्यसको प्रतिवादस्वरूप संयोजक बादलले अर्को प्रतिवेदन तयार पारेका थिए ।
दुवै प्रतिवेदनलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने निष्कर्षसहित शुक्रबार आवासीय बैठक बस्ने निर्णय भएको थियो । सोहीअनुसार बल्थली पुगेका कार्यदलका नेताहरूबीच अझै सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३