काठमाडौं । आगामी असोज १ देखि १५ गतेसम्म बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय गरिएको छ।
शुक्रबार (भदौ २६) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको सम्भावित कार्यतालिका तय गरेको हो।
सम्भावित कार्यतालिकाअनुसार असोजको पहिलो साता प्रतिनिधिसभा बैठक चार दिन बस्नेछ। असोज १, ५, ६ र ७ गते बैठक बस्ने तय भएको छ। त्यसैगरी असोज १३, १४ र १५ गते पनि बैठक बस्नेछ।
असोज १६ गतेपछि संसद् अधिवेशन अन्त्य गर्ने गरी छलफल भएको छ। यसअघि भदौ ३० र ३१ गते पनि प्रतिनिधिसभा बैठक बस्नेछ।
असोज १ गतेको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची छ।
असोज ५ गते बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयकलाई समितिमा पठाउने कार्यसूची तय गरिएको छ।
त्यस्तै, असोज ६ गते मन्त्रालयगत प्रश्नोत्तर सञ्चालन गर्ने तयारी छ। सोही बैठकमा नागरिक लगानी कोष विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३