काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको बताएका हुन्।
उनले राजा र राजनीतिक दलबीच विगतमा चलेको निषेधको राजनीतिले देशलाई थप द्वन्द्वतर्फ धकेलेको भन्दै अब त्यस्तो राजनीति त्याग्नुपर्ने बताए।
लिङ्देनले १० वर्षे द्वन्द्वपछि गत वर्ष भदौ २३ र २४ गते भएको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षति मुलुकले व्यहोरेको उल्लेख गर्दै नेपाल थप द्वन्द्व र विद्रोह धान्न सक्ने अवस्थामा नरहेको बताए।
उनले भने, ‘अब निषेधको राजनीति छोडेर सबै राजनीतिक शक्तिदेखि राजासम्मको बीचमा राष्ट्रिय सहमति निर्माण गरेर देशलाई निकास दिने बेला आएको छ।’
राष्ट्रिय सहमतिमार्फत देशमा शान्ति र स्थिरता कायम गर्दै आगामी ५ देखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्याउने अभियानमा सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।
राष्ट्रिय एकता र सहमतिको पक्षमा राप्रपाले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै लिङ्देनले त्यसलाई विश्वसनीय बनाउन पार्टी आफैँ बलियो र एकताबद्ध हुनुपर्नेमा जोड दिए।
उनले पार्टीभित्र भएका कमी–कमजोरी सच्याउँदै आफूबाटै सुधारको सुरुवात गरेर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३