काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र पारिएको बताए। बेपत्ता नागरिकको खोजीलाई समेत सरकारले प्राथमिकतामा राखेको उनले जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख डलर बराबरको मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गरे।
नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीबापतको वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि अनुरोध गरे।
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्युजिल्यान्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३