काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सरेको छ।
बिहीबार (भदौ २५) विशेष अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि अन्तिम सुनुवाइ अर्को मितिका लागि सारिएको हो। मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलास तोकिएको थियो।
न्यायाधीश विदुर कोइरालाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको हो। अदालतले यसअघि फैसला प्रयोजनका लागि अन्तिम सुनुवाइको पेसी तोक्दै सरकारी वकिल र नेपाल पक्षका कानुन व्यवसायीसँग बहस नोट मागेको थियो। दुवै पक्षबाट बहस नोट पेस भइसकेको छ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दाको अर्को पेसी भदौ ३० गतेका लागि तोकिएको छ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा खरिद–बिक्रीमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले २०८२ जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले प्रतिवादीहरूविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ।
जग्गा खरिद तथा बिक्रीको निर्णय प्रक्रियामा तत्कालीन प्रधानमन्त्री नेपालसहित तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, मुख्यसचिव माधव घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्तलगायत उच्चपदस्थ अधिकारी संलग्न रहेको अख्तियारको दाबी छ। प्रतिवादी रहेका घिमिरेको मुद्दा विचाराधीन रहेकै अवस्थामा निधन भइसकेको छ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो। त्यसअघि २०६६ माघ १८ गते नेपालले ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ।
उनीहरूमाथि ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग छ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३