काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा र असन्तुष्टिको परिणाम भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै केसीले तत्कालीन सरकारको दमनका कारण आन्दोलन थप उग्र बनेको बताए ।
उनले जेनजी आन्दोलन कुनै दल विशेषको पक्ष वा विपक्षमा नभएको र सरकार परिवर्तनका लागि मात्र नभई शासनको संस्कार र शैली परिवर्तन तथा सुशासनका लागि भएको बताए ।
‘यो आन्दोलन कुनै दल विशेषको पक्ष वा विपक्षभन्दा पनि सरकार परिवर्तनका लागि मात्र होइन । परिवर्तन संस्कार परिवर्तनका लागि थियो, सरकारको शैली परिवर्तनका लागि थियो, सुशासनका लागि थियो, विधिहीनता र दण्डहीनताको अन्त्यका लागि थियो,’ उनले भने ।
आन्दोलनको मर्मअनुसार वर्तमान सरकार अघि बढ्न सकेको छ कि छैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।
ठूलो जनविश्वास र आशा बोकेर बनेको वर्तमान सरकार सफल हुनुपर्नेमा जोड दिँदै केसीले देशमा अहिले चारैतिर हाहाकारको अवस्था रहेको बताए ।
‘अहिले चारैतिर हाहाकारको स्थिति छ । हामी एकै ठाउँ उभिएर अहिलेको प्रथम समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
केसीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य पर्याप्त हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । बाढीमा फसेका नागरिकको सुरक्षाका लागि थप प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ थियो ।
उनले बाढी प्रभावित नागरिकको समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरे ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३