काठमाडौं । यमनको अल–जौफ प्रान्तस्थित हज्म सहरको केन्द्रीय कारागारमा सोमबार भएको भीषण आक्रमणमा एक बालकसहित कम्तीमा सातजनाको मृत्यु भएको छ ।
आक्रमणमा एक महिलासहित अन्य सातजना गम्भीर घाइते भएका छन् । आक्रमणका क्रममा कारागारको एक भाग ध्वस्त हुँदा ३५ जना कैदी तथा कैदीलाई भेट्न पुगेका आफन्तहरू भग्नावशेषमा पुरिएको बताइएको छ ।
हुथी सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबही र सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले आक्रमणका लागि साउदी अरबलाई जिम्मेवार ठहर गरेका छन् । उनीहरूले साउदी पक्षले सर्वसाधारण र कैदीलाई लक्षित गर्दै निगरानी ड्रोन तथा भाडाका सैनिक प्रयोग गरेको आरोप लगाएका छन् ।
हुथी सैन्य प्रवक्ता सारीले यमनमाथि भइरहेको साउदी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन् । त्यसको परिणाम साउदीले भोग्नुपर्ने उनको भनाइ छ ।
हुथीहरूले पछिल्लो २४ घण्टामा अल–बायदा प्रान्तसहित विभिन्न क्षेत्रमा साउदीका चारवटा निगरानी ड्रोन खसालेको दाबीसमेत गरेका छन् । यद्यपि, यी आरोपबारे साउदी अरबको सञ्चार मन्त्रालय वा साउदी नेतृत्वको सैन्य गठबन्धनले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका सुरक्षा बलहरूले अल–जौफ, अल–बायदा, धाले र मारिब प्रान्तका विभिन्न मोर्चामा सैन्य कारबाही तीव्र बनाएपछि क्षेत्रमा पुनः भिडन्त चर्किएको बताइएको छ । यसले सन् २०२२ देखि कायम रहेको युद्धविराम थप कमजोर बन्दै पूर्ण रूपमा भंग हुने जोखिम बढेको छ ।
यमनको गृहयुद्धका क्रममा जेल तथा हिरासत केन्द्रलाई लक्षित गरी आक्रमण भएको यो पहिलो घटना भने होइन । सन् २०२२ मा साउदी नेतृत्वको गठबन्धनले सादा प्रान्तस्थित एक जेलमा गरेको आक्रमणमा ८७ जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१९ मा धमर प्रान्तस्थित हिरासत केन्द्रमा भएको आक्रमणमा १०० भन्दा बढी मानिस मारिएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३