काठमाडौं । नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सोमबार (भदौ २३) विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, घुसपैठ तथा त्यसपछिको तोडफोड र विध्वंसमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
कांग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति पनि कांग्रेसले सम्मान व्यक्त गरेको छ ।
आङ्देम्बेले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा गरिएको अत्यधिक बल प्रयोग तथा भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्न कसैलाई पनि राजनीतिक प्रभाव वा शक्तिका आधारमा उन्मुक्ति दिन नहुने बताएका छन् ।
उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको दाबी गर्दै आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिवेदनमा सत्ताको नेतृत्वबाट केही पात्रलाई जोगाउन खोजिएको आशंका रहे पनि मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
कांग्रेसले वर्तमान सरकार र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति पनि प्रश्न उठाएको छ । सुशासन, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणका विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको आरोप छ ।
“जेनजीको बलिदानलाई सत्तामा पुग्ने भर्याङ मात्र बनाउने अधिकार सरकारलाई छैन,” कांग्रेसले भनेको छ, “सरकारले आफूलाई यो आन्दोलनको प्रतिनिधिका रूपमा प्रस्तुत गर्छ भने आफ्नै शासनशैली जेनजीका मूल्य–मान्यतासँग मेल खान्छ भन्ने प्रमाणित गरेर देखाउनुपर्छ ।”
कांग्रेसले आलोचनालाई शत्रुको बोलीका रूपमा नलिन र प्रश्न उठाउने नागरिकलाई दण्डित नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । जेनजीको सपना कुनै दल वा व्यक्तिको निजी राज
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३